जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रहेको छ । यसका साथै संघीय सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन्। स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्लाको शान्ति सुव्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा जिल्ला प्रशासन कार्यालयको प्रमुखको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने, स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने, विपद् व्यवस्थापन गर्ने, सुशासन कायम गर्ने, सार्वजनिक शान्ति विरूद्धका कसुरहरूमा अर्धन्यायिक निकायको रूपमा सुरू कारबाही र न्यायिक निर्णय गर्ने साथै विकासात्मक कार्यहरूमा समन्वय तथा सहजीकरण गर्ने कार्यहरू रहेका छन् ।