Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय 2076-05-17

लमजुङ जिल्लाको परिचय

"लमजुङ" जिल्लाको नामाकरण मगर भाषाबाट भएको मानिन्छ। मगर भाषामा लमजुङको अर्थ अग्ला, लामा, ठूला, पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने हो। लमजुङ गण्डकी प्रदेशको मध्य भागमा अवस्थित एउटा पर्यटकीय पहाडी जिल्ला हो । लमजुङ जिल्लाको सिमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, उत्तरमा मनाङ र दक्षिणमा तनहुँ जिल्लासँग जोडिएको छ । भौगोलिक अवस्थितिका हिसावले २८ डिग्री ३ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र ८४ डिग्री ११ मिनेट पूर्वी देशान्तरबाट ८४ डिग्री ३८ मिनेट पूर्वी देशान्तरसम्म फैलिएर रहेको लमजुङ जिल्लाको कूल क्षेत्रफल १६९२ वर्ग किलोमिटर रहेको छ । समुद्री सतहको ३८५ मिटरदेखि ८१६३ मिटर (मनास्लु हिमाल) सम्मको उचाइमा फैलिएर रहेको यस जिल्लाको भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतीमा पनि विविधता रहेको छ । यहाँ हिमाली हावापानी देखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ ।

राजधानी काठमाडौँबाट पश्चिमतिर अवस्थित लमजुङ जिल्ला काठमाडौँबाट १६० कि.मी.को दूरीमा छ । अहिलेको सदरमुकाम वेशिशहरवाट करिव ३२ कि.मी पश्चिममा रहेको कुन्छा लमजुङको पुरानो सदरमुकाम हो । वि.सं २०२८ सालमा कुन्छावाट जिल्लाको सदरमुकाम वेसीशहरमा सारिएको थियो । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीशहर तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा रहेको छ। लमजुङ बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त जिल्ला हो । जातिगत हिसाबले यहाँ बिभिन्न जातिको बसोबास रहेता पनि जनसंख्याको करिव एक तिहाई हिस्सा रहेको गुरुङ समुदायको बाहुल्यता रहेको छ। ४५,९४० हेक्टर खेतीयोग्य जमिन रहेको यो जिल्लामा जलस्रोत र पर्यटन क्षेत्रको समेत प्रचुर सम्भावना रहेको छ । यहाँ प्रशस्त मात्रामा जलविद्युत आयोजनाहरू निर्माणाधीन छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा समेत रहेको लमजुङ जिल्लाको क्व्वहोलासोथार गाउँपालिकाका वडा नं. ३,४,५,६,७,८ र ९ साथै मर्स्याङ्दी गाउँपालिकाको वडा नं. १,२,३ र ४ अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछन् ।

 २०७८ सालको जनगणना अनुसार लमजुङ जिल्लामा ७४०७७ जना पुरुष र ८१७७५जना महिला गरी कूल जनसंख्या १,५५,८५२ जना रहेको छ । यो २०६८ सालको जनसंख्या (१,६७,७२४) को तुलनामा ११,८७२ जनाले कम हो । परिवारको औसत आकार ३.५३ रहेको यस जिल्लामा जम्मा ४४,१७० परिवार संख्या रहेको छ । लमजुङ जिल्लाको लैङ्गिक अनुपात ९०.५९ रहँदा कूल साक्षरता दर ७७.९४ प्रतिशत र जनघनत्व ९२ रहेको छ ।  प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र २ रहेको यस जिल्लामा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिकाहरु रहेका छन् ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:49:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, लमजुङ .